नेकपा एमालेका महासचिव इश्वर पोखरेलले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरिसक्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमालेको १३ औं केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महासचिव पोखरेलले त्यस्तो प्रस्ताव अगाडि सारेका छन् ।
शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
महासचिव पोखरेलले भने, 'साउन ५ भित्र देशभरबाट सदस्यता अधावधिक भई सक्नुपर्ने छ । विधान संसोशन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाई सक्नुपर्ने छ ।' पार्टीको महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् ।
त्यसैगरी महासचिव ईश्वर पोखरेलले २०६९ वैशाखभित्र एमालेको दशौ महाधिवेशन सक्नेगरी तयारी अघि बढाउन प्रस्ताव गरेका छन् । 'वैशाख ३०, २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरी सक्नुपर्छ । कानुनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ', महासचिव पोखरेलले भने, 'किनभने मंसिरमा हुने चुनाव र फागुनमा स्थानीय तहको निर्वाचन छ । त्यसैले चुनाव सकिएपछि पार्टीलाई महाधिवेशन तर्फ लैजानुपर्छ ।' आयोजक कमिटी गठन गरी चार वटा बैठक गरेपनि अदालतले अमान्य भनेपछि विघटन गरिएको पोखरेलले बताए ।
महासचिव पोखरेल अहिले जारी बैठक एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिकै हैसियतको भएको दाबी गरे । उनले भने, 'केन्द्रीय कमिटी बैठक जेठ २ मा जुन नेतृत्व थियो त्यसैको बैठक गर्दैछौ ।'