नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला आउँदासम्म जसको हस्ताक्षर काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती नेताहरू एमाले नरहने प्रष्ट बताएका छन् ।
एमालेको १३ औं केन्द्रीय कमिटीको बैठकलाई शनिबार बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले नेता माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको बताए ।
'फैसला हुँदासम्म जो-जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन्', ओलीले भने । अध्यक्ष ओलीले जेठ २ को सन्दर्भमा समेत प्रष्ट्याएका छन् । पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई अब नपर्खिने समेत बताए । 'हामी जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो', अध्यक्ष ओलीले भने, 'जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।'