काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।
राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् ।
आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए। उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे।
उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि। दुईतिर तीनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो। अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो। पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु। मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ। हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ। यस्तो बेलामा नआत्तिक सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु। म त्यसको लागि प्रयत्नशिल छु।’
यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि सम्भव हुने बताए । उनले एकता सम्भव भएको तथा सर्वोच्चको निर्णय आएपछि एकता हुने आशा व्यक्त गरे ।’