नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बोलाएपछि उनी बालुवाटार पुगेको स्रोतले जानकारी दियो । शनिबार सम्पन्न भएको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको समयसीमा सोमबार बेलुकी ५ बजे सकिदैछ ।
त्यसअघि नै सहमति जुटाउन एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय छन् । माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वार्तामा डाक्न सुझाव दिइएको बताइएको छ । अन्य नेताहरुले पहल गर्दा नेता नेपालले प्रधानमन्त्री ओलीसँग भेट्न अस्वीकार गर्दै आएका छन् ।