मंसिर ०७, २०८१, शुक्रबार
               

२३ सांसदको हस्ताक्षर फिर्ता गर्ने भाका सकिँदै, एमाले एकता गम्भीर मोडमा

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सोमबार साँझ सकिँदै छ ।

गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि सोमबार बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको थियो । 

हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । तर माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ । ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउने दोस्रो तहका नेताहरूको प्रयास सफल हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि जेठ १० गते कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको थियो । १४६ जना सांसद हस्ताक्षरसहित सर्वोच्चमै लाइन लागेर रिट दर्ता गर्दा उक्त समूहमा एमालेका २३ जना सांसद पनि सहभागी थिए ।

यिनै २३ सांसद विपक्षी गठबन्धनमा सामेल भएपछि कमजोर भएका प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता हुनुपर्ने कुरा जोडतोडले उठाएका हुन् । हस्ताक्षर फिर्ता नभए पार्टी फुटको औपचारिक सुरुवात त्यहीँबाट हुने घोषणा ओलीले गरेका थिए । सोमबार बिहानसम्मको राजनीतिक घटनाक्रम हेर्दा नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने देखिन्छ । त्यसअघि नै सहमति जुटाउन एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय छन् । 

पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले दुई जनाको रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने भन्दै दुवैलाई मिलाउन आफू लागिपरेको बताएका थिए ।

शुक्रबारको बैठकमा हस्ताक्षर फिर्ता लिने ओलीले बालुवाटारबाट निर्देशन दिँदा सर्वोच्चमा संसद् विघटन र प्रधानमन्त्री नियुक्तिको मुद्दामा सरकार पक्षका वकिलले अन्तिम दिनको बहस गरिरहेका थिए । सोमबार यो मुद्दाको सबै बहस सक्ने तयारी छ । यही दिनको भाका राखेर  ओलीले हस्ताक्षर फिर्ता लिन आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि