नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलल शीर्ष नेता भेट गराउने संयुक्त वक्तव्य जारी गराउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एकताको सन्देश दिन वक्तव्य जारी गराउने प्रयास गरेका छन् । पछिल्लो प्रयास असफल हुँदै गर्दा पार्टीका दोस्रो तहका नेताहरूले प्रयास निरन्तर जारी राखेका हुन् ।
सोमबार पनि दुवैतर्फका दोस्रो तहका नेताले ओली–नेपाल भेट गराएर समझदारी जुटेका विषयमा संयुक्त वक्तव्य जारी गराउने प्रयास गरेका थिए । तर, नेपाल पक्षले असहमति जनाएपछि विवाद एकतातिर अगाडि बढेको सन्देश दिने कोसिस असफल भएको हो ।
मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरुले बताएका छन् । संयुक्त वक्तव्य जारी गराएर ओलीले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने आशंका गर्दै नेपालले ओलीसँग भेट गर्न र विज्ञप्ति निकाल्न अस्वीकार गर्दै आएका छन् । तर ओली पक्षका नेताहरु जसरी पनि मनाउने प्रयासमा छन् ।
ओली पक्षीय एक नेता भन्छन् –‘आज पनि (मंगलबार) शीर्ष नेताबीच भेट गराउने र एकै लाइनको भएपनि संयुक्त विज्ञप्ति निकालेर पार्टी एकताको सन्देश दिने तयारी छ ।’
ओलीसँग संवादका लागि निरन्तर अरुचि राख्दै आएका नेपालमाथि उनी पक्षका दोस्रो तहका नेताहरूले निरन्तर दबाब दिँदै आएका छन् । आइतबार बिहान ओली निटक नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई मनाउने प्रयास गरेका थिए ।
भेटमा नेपालनिकट नेताहरू घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट पनि सहभागी थिए ।
सोमबार पनि दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, भीम आचार्य, गोकर्ण विष्ट र घनश्याम भुसाल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेताहरू विवाद समाधानको प्रयास खोज्न दिनभर सक्रिय रहे । सोमबार पनि प्रयास असफल भएकाले फेरि आज छलफलमा जुट्न लागेका हुन् ।
एमाले अध्यक्ष ओली समूहले भने सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता गरिएको रिटमा हस्ताक्षर फिर्ता लिनुपर्ने माग गर्दै आएको छ । तर, माधव नेपाल पक्ष भने जेठ २ को सहमतिमा फर्किने भएपछि मात्रै एकता सम्भव रहेको बताउँदै आएको छ ।