नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्त्वपूर्ण परिघटना भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जीत भएको बताएका छन् ।
पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति रहेको बताउँदै उनले अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने उल्लेख गरे । उनले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताए ।
उनले भने, “संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु । मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु । उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो । यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।'
उनले सामाजिक सञ्जालमा लेखेका छन्-''पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो । त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छु । यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ । इतिहासले यसलाई सम्मान गरिराख्ने छ ।”