काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिठी बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले आज दिउँसो १ बजेको लागि बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने बुझिएको छ । यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो ।
आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहदुर तामाले जानकारी दिए । गत असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए ।
आजको बैठकमा माभव पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ ।
माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । तर, उक्त १० बुँदे सहमति अनुमोदन हुने या नहुनेमा अझै अन्योल छ ।