मंसिर ०७, २०८१, शुक्रबार
               

१० लाख धरौटीमा गच्छदार रिहा

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालत काठमाडौंले आदेश दिएको छ । 

नेपाली कांग्रेसका नेता समेत रहेका गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालतले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । 

गच्छदार आजै धरौटी रकम बुझाएर छुट्ने तयारीमा छन् ।

लामो समयदेखि फरार रहेका गच्छदार आज (बुधबार) बिहान अदालतमा उपस्थित भएका थिए । 

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कार्य गरेको आरोप उनीमाथि थियो । 

गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको हो । 

गच्छदारको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरेका थिए । 

उनीहरुले विभागीय मन्त्रीका हिसाबले फाइल मन्त्रिपरिषदमा पेसमात्रै गरेको भन्दै गच्छदारको बचाउ गरे । मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लगेको र भ्रष्टाचारको कसुर नगरेको उनीहरुको जिकिर थियो । 

गच्छदारलाई धरौटी लिने वा थुनामा पठाउने काम नगर्न गच्छदारको तर्फबाट बहसमा सहभागी वकिलहरुको माग थियो । 

उनीहरुले बहसमा भने, ‘साधारण तारेखमा राखेर मुद्दाको फैसला गरियोस् ।’ सरकारी वकिलतर्फबाट एक जना वकिलले बहस गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि