पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ साउनमा फ्लोरक्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने २२ जनालाई ‘आममाफी’ दिने घोषणा गरेका छन्।
नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका हुन्।
ओलीले भनेका छन्,‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड । को कहाँ छौं छोड्दिउँ, विगतका कुरा छोड्दिउँ, पदका कुरा छोड्दिउँ, स्वार्थका कुरा छोड्दिउँ, देशका कुरा गरौं, जनताका कुरा गरौं, समस्याका कुरा गरौं, समाधानका कुरा गरौं, पार्टीको एकताको कुरा गरौं ।'
केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन बुधबार पनि अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट पारेका थिए। उनले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए।