काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने, 'पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ, अब ढिला गर्नुको अर्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।'
उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पारे ।
नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए ।
छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भएको उनले बताए ।