शनिवारदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। पार्टी एकताको पहल गर्न भन्दै शनिवार केही बेर बसेर स्थगित भएको बैठक आज दिउँसो ३ बजे बस्ने तुलसीलाल स्मृति प्रतिष्ठानमा गरी बोलाइएको छ ।
बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णतालगायतका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरूको पूर्णता र प्रदेश कमिटीहरूको अनुमोदनबारे छलफल हुनेछ।
यसअघि शनिवारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी थिएन।
यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको हिजाे सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगन गर्न आग्रह गरिएकाे बताएका थिए।
तर यसबीच दुई शीर्ष नेता (ओली र नेपाल) बीच आरोपप्रत्यारोप झन् बढेको छ। यसबाट दुई पक्षबीच एकता अझ जटिल बनिरहेको देखिन्छ।