काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ ।
मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन् । भेटवार्ताको स्थान र समय भने तय भइनसकेको बताइएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई नेताबीच भेटवार्ता हुने बताए । 'हामीले दुई नेतालाई भेटका लागि आग्रह गर्दै आएका हौँ । आज सम्भवतः भेटवार्ता हुन्छ । स्थान र समय भने यकिन हुन सकेको छैन', नेता नेम्वाङले भने ।
दुई नेताबीच भेटवार्ताका लागि एमालेका दोस्रो तहका नेताहरूले लामो समयदेखि प्रयास गर्दै आएका थिए ।
नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकमा पनि नेताहरू निर्णायक छलफलका लागि वार्तामा बस्नुपर्ने बताएका थिए । बैठकपछि पत्रकारलाई नेता रघुजी पन्तले पनि चाँडै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुने बताएका थिए ।
एमाले विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो । तर, त्यसलाई माधव नेपाल मान्न तयार भएका छैनन् । नेताहरूले १० बुँदेकै सेरोफेरोमा रहेर पार्टी विवाद समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।