काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नाममा पटक–पटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।
एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबारविज्ञप्ति जारी गरी यही साउन २१ गते (आज) पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।
तर, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भने बिहीबार (आजै) बैठक बस्ने तयारी गरेको छ । उक्त बैठक आज बिहान एघार बजेको लागि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको पार्टीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
उक्त बैठकको लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आइसकेको उनले बताए । संसद् पुनःस्थापना र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । तर, अध्यक्ष ओलीले भने माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएका छन् ।