काठमाडौं । नेकपा एमालेले आगामी भदौमा विधान महाधिवेशनको तयारी गरेको छ । सोही सम्बन्धमा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ ।
आगामी भदौ २७ र २८ गतेका लागि तोकिएको विधान महाधिवेशनको तयारीस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग शुक्रबार छलफल गर्दै छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा विधानबारे छलफल हुने बताइएको छ ।
२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेशअनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको एमालेले जनाएको छ ।
एमालेको हालको विधान संघीय ढाँचाअनुसार छैन । त्यस्तै, ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ ।
विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गर्ने तयारी छ । एमाले केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ । विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू समेत यसअघि एमालेले गठन गरिसकेको छ ।