काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् ।
एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको बताए ।
‘एमाले अब जेठ २ गतेको अवस्थामा पुग्न सम्भव छैन । यो त जन्मेको बच्चा पेटभित्र पठाउ भनेजस्तो हो’ बस्नेतको भनाइ छ । उनले केही नेताहरु अनेक आर्थिक प्रलोभन, ठेक्कापट्टा र मन्त्री बन्ने लोभमा देउवाको पक्षमा मतदान गर्न गएको भन्दै उनीहरु नेताहरुलाई पार्टीमा फर्कन यही साउन २४ गतेसम्मको अध्यक्षले म्याद दिएको र त्यसलाई कमजोरी नठान्न चेतावनी दिए ।
‘देउवालाई मत दिन गएका साथीहरु अहिले घर न घाटको भएका छन् । न बालुवाटारको न बालकोटको ? २४ गते केन्द्रीय कमिटी बैठक बस्दै छ त्यसबेला सम्म निर्णय गर्नुस् पार्टीमा फर्कनुस्’ बस्नेतको सुझाव छ ।
उनले युवा संघ भूमिहीन र सुकुम्वासीको पक्षमा लाग्ने गरी युवा संघ अघि बढ्ने बताए । उनले अघिल्लो सरकारले गरेका काम उल्ट्याए युवा संघले विद्रोहको नेतृत्व गर्ने चेतावनी दिए ।
‘विगतको सरकारले गरेका काम वर्तमान सरकारले उल्ट्यायो भने जनताको आन्दोलन फेरि उठ्छ । त्यो आन्दोलनलाई राष्ट्रिय युवा संघले सशक्त नेतृत्व गर्छ’ बस्नेतको भनाइ छ ।