काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठनको प्रक्रियामा रहेका माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । महाराजगञ्जमा शुक्रबार भएको ती नेताहरु भेलाले पार्टी एकतामा जोड दिएको छ ।
अहिलेको अवस्थामा देखापरेका पार्टीका समस्यालाई हल गर्दै पार्टी एकतामा जोड दिने उनीहरुको निष्कर्ष छ । तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको एमाले नेता भीम रावलले जानकारी दिए । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुने उनको भनाई छ ।
'हामीले केन्द्रीय कमिटी र सांसदहरु गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, त्यसको समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाहीहरु र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गर्यौं । पार्टीमा विभाजनको जुन स्थिति सिर्जना भएको छ, त्यसको बारेमा हामीले छलफल गर्यौं ।'
नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनमा विगतमा भएका दुष्परिणामहरुको बारेमा छलफल गरेको बताउँदै उनले अन्तिममा १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्ने र कारबाही रोक्नुपर्छ भन्ने निस्कर्ष निकालिएको बताए । साथै सरकारले ल्याएको राजनीतिक दल विभजन सम्बन्धी अध्यादेश कुनै हालतमा स्वीकार्य नहुने र सो अध्यादेश खारेज हुनुपर्ने उनले बताए ।
एमालेको एकताका लागि आगामी दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हितका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताए ।
कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागिपर्ने छलफलपछि एमालेका अर्का नेता गोकर्ण विष्टले बताए । छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेता विष्टले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको विरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए ।
पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल भएको उनको भनाई थियो ।
एकीकृत एमाले निर्माण गर्न माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता लिन आग्रह गर्ने र दल दर्ताको प्रकृयामा रहेका नेपाललाई त्यहाँबाट फिर्ता भएर पार्टी एकता प्रकृयामा भूमिका निर्वाह गर्न आग्रह गर्ने छलफलको निष्कर्ष रहेको नेता विष्टले बताए ।
'हामी लामो समयदेखि पार्टीभित्र देखा परेको असामान्य परिस्थिति समाधान गर्दै सबल र एकीकृत नेकपा एमालेका लागि प्रयत्नशील थियौं । यसै सन्दर्भमा नेकपा एमालेभित्र देखापरेको समस्यालाई समाधान गर्न एउटा कार्यदल निर्माण गरियो । त्यो कार्यदलले पार्टीभित्रका समस्याका समाधानको सन्दर्भमा १० बुँदे सहमतिलाई अगाडि बढायौं', नेता विष्टले छलफलबारे जानकारी दिँदै भने ।
उनले भने, 'हामीले नेकपा एकताको कार्यलाई जारी राख्ने, दल अध्यादेश सम्बन्धी अध्यादेशको बिरोध गर्ने, १० बुँदे सहमतिलाई अक्षरश: पालना गरेर नेकपा एमालेलाई एकताबद्ध गर्ने सन्दर्भमा मात्र माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओली जीलाई आग्रह गर्ने, दल दर्ता गर्न जानुभएका माधव नेपालजीहरुलाई त्यहाँबाट फिर्ता भएर पार्टी एकताका लागि भूमिका निर्वाह गर्ने, अहिलेका समस्याको समाधान गर्ने सन्दर्भमा यो भेलाले निष्कर्ष निकालेको छ । यो समय अध्यक्ष केपी शर्मा ओलीलाई लचकता भएर जान आग्रह गर्छौं र माधव नेपालजीलाई पनि आग्रह गर्छौं ।'