नेकपा एमालेका नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा पार्टी फूटको पक्षमा नरहेको भन्दै नेपाललाई साथ नदिएका नेताहर"सँग अध्यक्ष केपी शर्मा ओली पक्षले छलफल थालेको छ ।
नेपालसँग नयाँ पार्टी गठनमा सहभागि नभएका एमाले नेताहरुले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई समयसीमा दिएका छन् । यसैको सेरोफेरोमा अहिले छलफलहरु चलिरहेको ओली पक्षका दोस्रो तहका नेताहरुले बताएका छन् । शुक्रबार बसेको ती नेताहरुको बैठकले अध्यक्ष ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपालले गठन गरेको पार्टीमा जाने अवस्था आउने चेतावनी दिँदै १० बुँदे कार्यान्वयन गर्न मंगलबारसम्मको समयसीमा दिएका थिए ।
एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेता नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरुसँग छलफल चलिरहेको बताउदै आफूहरू औपचारिक र अनौपचारिक रुपमा निरन्तर छलफलमा रहेको बताए । 'हामीले छलफल गरिरहेका छौ । हाम्रो छलफल सकारात्मक भइरहेको छ', नेता नेम्वाङले भने, 'ठ्याक्कै यही नै भयो भन्ने त भइसकेको छैन । तर हामी नियमित रुपमा कुराकानीमा छौ । कुनै निश्कर्षमा पुग्न सकिन्छ कि, भन्ने आशा छ ।'
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएका नेतालाई सनाखतको लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ । पार्टी विभाजनमा नेपाललाई साथ नदिएका नेताले १० बुँदेलाई अक्षरस पालना गर्न पार्टी अध्यक्ष ओलीसँग माग गरेका छन् । त्यसैगरी उनीहरूले नेपालसहितका १४ सांसदलाई सांसद पदबाट हटाउन गरिएको सिफारिस फिर्ता लिनसमेत आग्रह गरेका छन् । नेताहरुले नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि हटेर एकता प्रक्रियामा योगदान दिन माधव नेपाललाई आग्रह गरेका छन् ।