एमालेले पार्टी विभाजन गरी नयाँ दल दर्ता गरेका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । आज सम्पन्न स्थायी कमिटीको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो ।
पार्टी स्थायी कमिटी बैठकपछि जारी गरिएको एक आह्वानमा यो कुरा उल्लेख गरिएको छ । “एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित भएको छ । मूल घरमा फर्किनुहोस्,” प्रवक्ता प्रदीप ज्ञवालीले भने, “तपाईंहरूलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । कारबाही नहुने जानकारी गराउन चाहन्छौँ ।”
साथै नेकपा एमाले स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री मावधकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले उक्त सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।