काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् ।
‘केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी’ भन्दै प्रचण्डले,‘ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने’ बताएको सुनेको जिकिर गरेका छन् ।
सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले भने,‘ज्ञानेन्द्रसँग भेटेर ‘गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो’ भनेर भनेको सुने । स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस् ।’
अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने प्रचण्डले बताए ।
प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको उनले बताए । ‘केपी ओलीसँग एकता गरेर गल्ती गरियो भन्ने आवाज छ ।
तर, हाम्रो विचार, नीति सही थियो नि । त्यत्रो जनताले विश्वास गरेर भारी बहुमत थिए । तर, यो प्रतिक्रियावादी प्रतिक्रान्तिकारी जाली फटाहालाई सैह्य भएन । डे वान देखि षडयन्त्र गरे ।'
पार्टीभित्र नै वैचारिक हिसाबले विकृत गराएर फुट गराएर नेताहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर कम्युनिस्ट पार्टीभित्र फुट गराउने काम विश्वभर नै हुँदै आएको र कम्युनिस्ट पार्टीभित्र नेता पतित भएपछि हुने गरेको भन्दै संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भटेकाे बताउँदै प्रचण्डले भने, ‘मलजल र सिंगरपटार गरे ।
ढाडस दिएर उचाले । अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए । यसलेमात्रै माओवादीलाई ठिक गर्न सक्ने भन्ठानेर मलजल गरे ।
हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो । हामीले गल्ती गरेको होइन । प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए । अब संघर्ष बाहेक अर्को विकल्प छैन भनेर संघर्ष र विद्रोह सुरु गर्याैँ ।’
आफूहरूले हारेको नभई जितेको उनको दाबी छ । ‘पार्टी फुटाइएको हो । २५ प्रतिशतमा ओली थिए । ७५ प्रतिशतमा हामी थियौं । पार्टीबाट ओलीलाई निकाल्यौं । मलाई दलको नेता बनाइयो ।
केही दिनमा प्रधानमन्त्री हुनेवाला थिए । यो हामीले हारेको हो त ? यो त हामीले जितेको हो,’ प्रचण्डले भने, ‘तर अदालतले पार्टी फुटाइदियो । जुन दिन मलाई दलको नेता चुनियो र प्रधानमन्त्री हुँदै थिए पार्टी अलग अलग हुन आदेश भयो ।’
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको बताउँदै प्रचण्डले भने, ‘ ६ वटै प्रदेशमा ओलीः प्रवृत्ति परास्त भयो । केहो माओवादी भन्ने कुरा हुँदा सत्ताको केन्द्रमा त माओवादी नै आयो । प्रचण्डम: ह्युमेलेटलः घेराबन्दी गर्दा अहिले माओवी हेडक्वाटर बन्यो । प्रदेश १ मा पनि गठबन्धनको सरकार बन्छ ।’