नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षीलाई किन छटपटी भएको ? भनेर प्रश्न गरेका छन् । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आएका ओलीले प्रचण्डलाई लक्षित गरी उक्त प्रश्न गरेका हुन् ।
एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूविरुद्ध लड्नकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको बताएका थिए । प्रचण्डको गृहजिल्लासमेत रहेको चितवनमा आएर ओलीले भने, ‘चितवनमा महाधिवेशन गर्ने भइयो के भन्या' थ्यो, सेरोफेरो सबै मेरो जस्तो पो गर्छन् । चितवनमा महाधिवेशन गर्न के ठूलो कुरा भयो ? पहिले बुटवलमा गर्यौँ, नेपालगंज र जनकपुरमा गर्यौँ । यसपालि चितवनमा गर्छाैं । किन छटपटी ?’
चितवनमा महाधिवेशन गरे पनि वा नगरे पनि एमालेले स्वतः जित्ने उनले दाबी गरे । ‘जनताले पनि एकचोटि धोका पाए । हामीले पनि पायौँ । झण्डै दुई तिहाइ पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पारे । कोको हुन् भन्ने चिनेको छैन ?’, उनले भने । अबको चुनावमा माओवादीकै कार्यकर्ताले सूर्य चिह्नमा मतदान गर्ने उनले दाबी गरे ।
फरक प्रसंगमा बोल्दै ओलीले वर्तमान गठबन्धनको सरकार केही समयमा आफैँ खुइलिएर जाने बताए । जालझेल र सेटिङ मिलाएर सरकार बनाएको रहेछ भन्ने कुरा स्पष्ट भइसकेको उनले बताए । ‘न्यायाधीशहरू आफैँ भन्न थाले । बकपत्र सुरु गरे । अमेरिकाबाट आएको ईमेल पढिसक्न नपाउँदै छोपछोप बन्द गर..’, उनले भने, ‘भण्डाफोर पो हुन लाग्यो । आधैमा रोके । प्रतिक्रियावादीहरूले यस्तो हर्कत गर्छन् ।’
नेकपा एमालेलाई सरकारबाट ढाल्नका लागि असंवैधानिक बाटो रोजेको कुरा उक्त ईमेलमा स्पष्ट रहेको उनले दाबी गरे । एमालेसँग अगाडिबाट लड्न नसकेपछि पछाडिबाट झुक्याएर असंवैधानिक ढंगबाट परमादेशले हानिएको उनले बताए ।
‘रामको जन्मभूमि अयोध्यापुरी नै हो’
अध्ययन गर्दै जाँदा भगवान् रामको जन्म चितवनको अध्योध्यापुरीमै भएको भन्ने तथ्य फेला परेको उनले बताए । 'रामको जन्मभूमि अयोध्यापुरी नै हो । रामायण लेखिएको वाल्मीकि आश्रम छँदै छ । देवघाट यहीँ छ । तीन हजार वर्ष अगाडि धेरै कुरा यहाँ भएका थिए । समय क्रममा सभ्यता कमजोर भएर गयो, छोपियो । अब हामीले पुरानो सभ्यता उठाउनु छ', ओलीले भने ।
गठबन्धनविरुद्ध एमाले एक्लै काफी
देश बनाउने पार्टी एमालेबाहेक अरू नभएको भन्दै उनले कांग्रेसको कुनै गन्तव्य नै नभएको दाबी गरे । आगामी चुनावमा पाँच दलीय गठबन्धनविरुद्ध लड्न एमाले एक्लै काफी हुने उनले बताए । ‘पाँचवटा मिलेरै जाऊ । हामी एक्लै काफी छौँ । काफी हुनुपर्छ’, उनले भने, ‘धनुबाट छुटेको बाणझैँ लाग्न हाम्रा साथीहरूलाई आग्रह गर्छु । कुनै बैसाखी नटेकी एक्लै जिताउन लाग्नुहोस् ।’
चितवनबाट तीन जना प्रतिनिधिसभा सांसद र छ जना प्रदेश सांसद एमालेबाट चाहिने उनले बताए । सबै पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पनि एमालेबाटै हुनुपर्ने उनको भनाइ छ ।