मंसिर ०७, २०८१, शुक्रबार
               

तात्यो अख्तियार, कतै छापा, कसैलाई मुद्दा !

नेपाल फ्ल्यास
मंसिर २९, २०७८

ADVERTISEMENT

सक्रिय हुन नसकेको भनेर आलोचना खेपिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कामलाई तीब्रता दिएको छ । आयोग पछिल्ला दिनमा एक्सनमा उत्रिएको छ ।

आयोगले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुधबार छापा हानेको छ । 

बुधवार बिहान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा हान्दै अनुगमन सुरु गरेको हो । नगरपालिका विरुद्ध अख्तियारमा उजुरीको चाङ लागेपछि अनुसन्धान गर्न टोली खटिएको हो । टोलीले बिहान ९ बजेदेखि साँझसम्म कार्यालयमा रहेको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । अनुसन्धान गर्न उपसचिव बद्रीप्रसाद कार्कीको नेतृत्वमा टोली खटिएको छ । 

नगरपालिकाका सम्बन्धमा परेका उजुरी र गुनासोका विषयमा स्थलगत रूपमा छानबिनका लागि टोली खटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनले नगरपालिकामा भएका कामको विषयमा केही उजुरी परेकोले सबै उजुरीको स्थलगत अध्ययन हुने बताए । 

नगरपालिकामा भएका खरिदसँग सम्बद्ध र निर्माणसँग सम्बद्ध विषयमा उजुरी परेको थियो । उजुरीका विषयमा र त्यस सँग जोडिएका अन्य पक्षलाई लिएर छानबिन गरिएको छ । पहिलो दिन कार्यालयमा रहेका कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिने र निर्माणको कामको स्थलगत अनुगमनसमेत हुने प्रवक्ता रिसालले बताए ।

बुधबार नै आयोगले काठमाडौं महानगरपालिकाका निर्देशकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको आरोपमा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशकद्वय सुमन अधिकारी, वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको हो ।

टेकुस्थित भवन निर्माण गर्न ठेक्का नम्बर ३३१८५–०७७–०७८–को लागि बोलपत्र आह्वानबमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरु मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयारी गरी निर्माण व्यवसायी छनोट गरेको उनीहरुमाथि आरोप छ ।

'गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको हुँदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्यांकन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्ने निज प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,' आयोगको विज्ञप्तिमा जनाइएको छ ।

 यसअघि म‌ंगलबार आयोगले एकै दिन ३ वटा मुद्दा दायर गरेको थियो भने दुई ठाउँमा छापा हान्यो ।

आयोगले नेपाल बिद्युत् प्राधिकरणको लहान वितरण केन्द्रका लेखाप्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । अवकाशप्राप्त कर्मचारीले बिमावापत पाउने सुविधा उनले हिनामिना गरेको आयोगले जनाएको छ । सुविधावापतको रकम हिनामिना गरेको आयोगले जनाएको छ ।

बर्दियाको राजापुर नगरपालिका– ८ का मनमाया चौलागाई आचार्य र उनका श्रीमान मनिलाल आचार्यविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । शिक्षक सेवा आयोगले २०७४ सालमा सञ्चालन गरेको प्राथमिक तह तृतीण श्रेणीको परीक्षामा उनीहरुले एक अर्काको नामबाट परीक्षा दिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

महोत्तरीको साविकको नमुना गाविसका तत्कालिन सचिव नागेश्वर राय यादवविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । उनले कीर्ते भरपाई बनाई समाजिक सुरक्षा भत्ताको १२ लाख ८६ हजार रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ ।

आयोगले मंगलबार नै दुई स्थानीय तहमा छापा हानेको छ । भक्तपुरको चाँगुनारायण तथा सुनसरीको भाक्राहा नरसिंह गाउँपालिकाकामा आयोगले छापा हानेको हो । खरिदमा अनियमितताको आशंकामा छापा हानिएको आयोगले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि