लण्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ ।
लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको हो ।
नर्थविकपार्क हस्पिटलमा गत मंगलबार कोरोना भाइरसका कारण उनको मृत्यु भएको हो ।
कोलेस्ट्रोल, घुँडा सुन्निने जस्ता रोगबाट ग्रसित राईको दुई दशक अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
करिब तीन हप्ता हस्पिटल बसेर कोरोनाको महामारीका कारण डिस्चार्ज गरिएका राई पछिल्लो समय रुघा, खोकी र निमोनियाबाट ग्रसित थिए ।
सेकेन्ड गोर्खा राइफल्समा १७ वर्ष सेवा गरेका सुनसरी इटहरीका राई श्रीमती र छोराबुहारीका साथ बेलायतमा बस्दै आएका थिए ।
संखुवासभा समाज यूकेका अध्यक्ष नैनसिंह गुरुङका अनुसार, मृतक राईका परिवारलाई अहिले ‘आइसोलेशन’मा राखिएको र उनीहरुसँग भेटघाट गर्न रोक लगाइएको छ ।