काठमाडौं । कतारबाट पाँच हजारभन्दा बढी नेपालीलाई स्वदेश ल्याइँने भएको छ । कतारमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन यही असार २ गतेदेखि सुरु गरिने भएको छ ।
कतारस्थित नेपाली दूतावासका अनुसार पहिलो उडान नेपाल एयरलाइन्समार्फत नेपालीहरु असार २ गतेदेखि स्वदेश फर्काउन सुरु गरिने भएको हो ।
दोस्रो उडान कतारबाट हिमालय एयरलाइन्सबाट १७ जुन (असार ३ गते) को लागि शुक्रबार तय भएको छ । साथै, तेस्रो उडान २० जुन (असार ६ गते) नेपाल एयरलाइन्स र चौथो उडान २२ जुन (असार ८ गते) गरी पहिलो ४ वटा उडानहरु तय भएको छ । कतारबाट पहिलो चरणमा स्वदेश फर्काउनेहरुको सूची दूतावासले हिँजो सार्वजनिक गरेको हो ।
दूतावासले सार्वजनिक गरेको सूचीअनुसार कतारबाट तत्काल स्वदेश फर्काउनुपर्नेहरुको संख्या पाँच हजार एक सय १४ रहेको छ । उक्त सूचीमध्ये पनि प्राथमिकताका साथ पहिलो उडानमार्फत विमानको क्षमता अनुसार स्वदेश ल्याइँने उल्लेख गरिएको छ ।