३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत विराटनगरको आदेश सर्वोच्च अदालतले १७ साउनमा सदर गर्यो ।
तर, आदेश दिने न्यायाधीश भने न्याय परिषद्को निर्णयबाट एक महिनाअघि पहिल्यै बदर भइसकेका थिए ।
पछिल्लो समय न्यायालयमा बेथिति बढ्दै गएको खबर नेपाल साप्ताहिकले छापेको छ ।
सर्वोच्चमा न्याय सम्पादन झन्झन् ढिलो हुन थालेको छ । जसले मुद्दाको चाङ थपिएको छ । फैसला घट्दै गएका छन् ।
भ्रष्टाचार अभियोगमा न्याय परिषद्ले न्यायाधीश विश्मंगल आत्रेय, उमेशकुमार सिंह र ओमकार उपाध्यायलाई पदमुक्त गरेको छ ।
न्याय परिषद्ले भ्रष्टाचारको छानविन थालेपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय जीवनहरी अधिकारी र रामचन्द्र यादवले राजिनामा दिएका छन् ।
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशमाथि कारबाही गरे पनि न्यायालयमा भ्रष्टाचार बढेको बढ्यै छ, जनआस्था भने घटेको घट्यै छ ।