मंसिर ०६, २०८१, बिहीबार
               

सीमाका सुरक्षाकर्मीले देख्नै पाएनन् दसगजा

नेपाल फ्ल्यास
मंसिर १५, २०७६

ADVERTISEMENT

विराटनगर : हामीलाई लाग्छ- सीमामा खटिएका नेपालका सुरक्षाकर्मीले सीमाको राम्रो सुरक्षा गरिरहेका छन् । तर, यो सोच्नु भ्रम मात्र हो । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न पनि पाउँदैनन् । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको भारतसँग सिमाना जोडिएका ठाउँमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्यसरह छ ।

पाँचथर र इलाममा सीमा सुरक्षाका लागि स्थापित सुरक्षा चौकी पनि सिमानाभन्दा टाढा हुँदा सीमास्तम्भले मात्र देशको सिमाना जोगाएका छन् । ताप्लेजुङको ६१ किलोमिटर भारततर्फको सिमानामा त सीमास्तम्भ समेत छैनन् । पाँचथर र इलाममा सीमा क्षेत्रको रेखदेख र अनुगमन गर्ने ‘बोर्डर अब्जर्भेसन पोइन्ट’ बाट नेपाल–भारत सिमानामा पुग्नै घण्टौं लाग्छ ।

इलामको रोङ गाउँपालिकाको लोहागडदेखि सन्दकपुरसम्मको ५२ किलोमिटर नेपाल–भारत सीमाको रेखदेखका लागि ३० जना सशस्त्र प्रहरी खटाइएको एक वर्ष भयो । पशुपतिनगरमा बसेको सीमा पोस्टले १ सय ४६ पिलरको पहरेदारी गर्नुपर्ने जिम्मेवारी छ ।

एक वर्षअघि पशुपतिनगरको द्वारमा सशस्त्रको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) ले सीमा अतिक्रमण हेर्नेलगायत काम गर्ने भए पनि भूगोलका कारण पूरै क्षेत्र ‘कभर’ गर्न समस्या भएको पोस्ट प्रमुख इन्स्पेक्टर पवन खड्काले जानकारी दिए । आफ्नै सिमाना हेर्न पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने सशस्त्रलाई सन्दकपुर पुग्न भारत हुँदै जानुपर्छ ।


३५ जना दरबन्दीको पोस्टमा अहिले जम्मा ३० जना मात्र छन् । चौकीले सीमा अतिक्रमण, चोरी निकासी, मानव बेचबिखन, तस्करीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्छ । गस्ती र अनुगमनका लागि २४ सै घण्टा सीमा सुरक्षामा जुट्नुपर्ने पोस्टले दैनिक पाउने जम्मा ३ लिटर इन्धनलगायत अपर्याप्त सुविधाले समेत काम प्रभावित पारेको उनले गुनासो गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

पशुपतिनगरसँगै मानेभञ्याङ, छब्बिसे र सन्दकपुरमा बीओपीको माग भए पनि सरकारले सुनेको छैन । मानेभज्याङमा भने तत्काल पोस्ट राख्ने तयारी गरेको सशस्त्रले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि