तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो ।
परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताउनुभयो । “विमानस्थलमा परीक्षण उडान मात्र गरियो”, उहाँले भन्न्भयो, “त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।”
नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीले एक दिनको पैदल दूरी हिँडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताउन्भयो । “यस पालिकालाई अहिलेसम्म पनि सडक सञ्जालले छोएको छैन ।”
विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताउनुभयो । “विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो”, उहाँले भन्नुभयो, “अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि यसलाई चुनावी नारा बनाइएको छ ।”