काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको माघ २७ गते बिहान आफ्नै घरमा काम गर्ने घरेलु कामदार विजय चौधरीबाट हत्या भयो ।
कामदारले मुनाको हत्या मात्रै गरेनन् आफूले पनि आत्महत्या गरे । कामदारले मुनाको हत्या गरेर किन आत्महत्या गरे यो विषयमा अनुसन्धान जारी छ । प्रहरीले हत्या गर्ने व्यक्तिले नै आत्महत्या गरेपछि कारण मात्रै खोजिरहेको छ । तर पनि कारण पत्ता लगाउन सकेको छैन । कारण पत्ता लगाउने क्रममा प्रहरीले कार्कीको घरमा जोडिएको सिसी टिभी फुटेजलाई प्रमुख र पहिलो स्रोत मानेको छ ।
सिसी टिभीमा देखिएको फुटेज अनुसार भान्सामा काम गरिहरेकी मुनालाई सुर्काने पारेको नाइलनको डोरीले घाटीमा कस्न लागेको जस्तो देखिन्छ । विजयले नै बाहिरबाट डोरी सुर्काने पारेर भित्र आक्रमण गरेको फुटेजमा देखिएको छ । त्यसअघि उनी बाहिर करिब १ मिनेट जति वरपर गरेको र टोलाएको जस्तो देखिएको छ ।
प्रहरीका अनुसार दुई दिनअघिको फुटेज पनि निकालेर अनुसन्धान गरेको छ । जसमा विजय टोलाएर बस्ने गरेको देखिएको छ । तर त्यसदिन विजयले मुनालाई आक्रमण गर्दाको समय १३ मिनेट रहेको छ । १३ मिनेट दुवै जनाको रस्साकस्सी परेको देखिन्छ । फुटेज पुरै बुझिने अवस्थामा नभए पनि १३ मिनेटमा विजय बाहिर निस्केपछि उनीभित्र पसेको अवस्था छैन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार १३ मिनेटमा विजय बाहिर निस्केको देखिएका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी अपराध महाशाखाको ललितपुर शाखाले यो घट्नाको सुक्ष्म अनुसन्धान गरिरहेको भए पनि पोस्टमार्टम रिपोर्ट भने बाहिर हल्ला भए जस्तो र प्रहरीले अनुमान गरेजस्तो आएको छैन । रिपोर्टमा घाटी थिचेर मृत्यु भएको उल्लेख भएपछि प्रहरी हत्या र आत्महत्या गर्नुपर्ने कारणको खोजीमा लागेको हो ।
पछिल्लो प्रहरी र पोस्टमार्टम रिपोर्टले मुनाको हत्या र कामदार विजय चौधरीको आत्महत्या भन्ने पुष्टि भैसकेको छ । प्रहरी अनुसन्धानले घरमा रहेको सिसी टिभी फुटेजमा देखिएको दृश्यले पनि मुनाको हत्या विजयले नै गरेको हुन भन्न प्रहरीलाई असजिलो भएको छैन तर कारण दिन मात्रै प्रहरीले सकेको छैन ।
आफ्नै घरको भान्सा कोठामा २७ बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले थप अनुसन्धानका लागि उनीहरूको मोबाइल र घटनास्थलमा भेटिएका प्रमाण सुरक्षित राखेको छ ।
चौधरी १३ वर्षको उमेरदेखि सोही घरमा कामदारका रूपमा बसेका थिए । उनी घरभित्रको काम गर्थेँ । पछिल्लोपटक चौधरीले गाडी चलाउन सिक्दै थिए । सो दिन घरमा मुना र विजयमात्रै थिए । कार्की भने पूजाका लागि पशुपति गएका थिए । छोरालाई पनि स्कुल पठाइएको थियो ।
प्रहरीले मुना र विजय दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ । २२ वर्षका विजय लक्का जवान भएकाले मुनालाई गिद्धे दृष्टि लगाएका थिए त ? अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मानिसमा कहिलेकाहीँ त्यस्तो भावना पनि आउन सक्छ । विजयले आत्महत्या गरेका कारण त्यसलाई नकार्न सकिँदैन । तर सिसी टिभी फुटेजले भने त्यसलाई देखाएको छैन ।
‘हामीले धेरै कोणबाट यो घट्नालाई अनुसन्धान गरिरहेका छौँ, विजय र उनको स्वभाव, असन्तुष्टिजस्ता विषयलाई पनि अनुसन्धानको पाटो बनाइएको छ । साथै कार्की सरले घर परिवारलाई दिने समयको विषयलाई अनुसन्धानमा समेट्ने छौँ । तर यसै भन्ने अवस्थामा छैनौँ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने । उनका अनुसार अहिलेसम्म घर परिवारका अन्य सदस्य र छिमेकीहरूसँगको सोधपुछ सकिएको छ । फरेन्सिक ल्याबबाट मोबाइल टेस्टको रिपोर्ट आउन बाँकी छ ।