काठमाडौं । महाशिवरात्रिको दिन शिवबुटी (भाङ) खाएर रमाइलो गर्ने क्रममा केटासाथीसँग चुम्बन गरेको भिडियो फेसबुकबाट बाहिरिएपछि एक युवतीले प्रहरीलाई खबर गरिन् ।
प्रहरीले निकै मेहनतका साथ शनिबार साँझ सो कार्यमा संलग्न तीनजनालाई पक्राउ गर्यो ।
तर पीडित युवती उजुरी दिन नआएपछि अभियुक्तविरुद्ध साइबर अपराधमा नभई अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जगातेका प्रमुख चक्रप्रसाद जोशीका अनुसार सहमतिमा खिचेको भिडियो बाहिरिएपछि युवतीले चरित्र हत्या गरेको भन्दै मौखिक खबर गरेकी थिइन् ।
सोही सूचनाका आधारमा सिन्धुली निवासी हाल ललितपु लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार कटुञ्जेबाट पक्राउ परेका हुन् ।
भिडियो बनाउने कार्यमा युवतीको सहमति भएकाले भिडियो निर्माणमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा समेत उजुरी दिन नआएको बुझाइ प्रहरीको छ ।
ती युवतीले भिडियो हटाइएकाले पक्राउ परेकालाई छोड्न आग्रह गरेकी छिन् ।