धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप उपलब्ध गराउने भएको छ ।घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षीरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै मुख्यमन्त्री लालबाबु राउतले सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
सो अवसरमा उनले विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए।
रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो बैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारबाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताए ।
विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतबार सांसद रघुवीर महासेठले पनि व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि रु २० हजार प्रदान गरेका थिए ।