महावीर पुनले तयार गरेको डिजाइनमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) सिलाउन सुरु भएको छ । कोरोना संक्रमणविरुद्ध चिकित्सकहरू असुरक्षित रहेको समयमा सुरक्षित पोसाक पीपीई सिलाउन सुरु भएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचार गर्नका लागि पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) आवश्यक रहने जनाएको भए पनि नेपालमा त्यसको अभाव छ । सङ्क्रमितको उपचार गर्दा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र आइसोलेसन वार्डमा रहने सबैले अनिवार्य पीपीई लगाउनुपर्छ । टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनुपर्छ ।
तर, यी सामाग्रीहरूको अभावका कारण हाल चिकित्सकहरूको व्यक्तिगत सुरक्षामा चुनौती थपिएको छ । पीपीईको प्रयोगबिना कोरोना सङ्क्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरुमा समेत सङ्क्रमण सर्ने सक्ने सम्भावना हुन्छ । त्यसैले यी स्वास्थ्य उपकरणको अभावमा चिकित्सकहरूले कोरोना सङ्क्रमितको उपचारमा संलग्न हुने सम्भावना कम हुन्छ ।
अस्पतालहरूमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको अभाव भएपछि राष्ट्रिय आविष्कार केन्द्रले सामाग्री उत्पादन गर्ने जिम्मा पाएको थियो । केही दिनअघि आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई शिक्षण अस्पताल काठमाडौँ र वीपी कोइराला अस्पताल धरानले कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि अत्यावश्यक पोसाक पीपीई बनाउन प्रस्ताव गरेको थिए । पीपीई मापदण्डअनुरुप बनेको खण्डमा तत्काल चार सय थान बनाउन पुग्ने कपडा (जापानी टफेटा), चेन र इलास्टिक ल्याइएको छ ।
पीपीईको नमुना तयारपछि डाक्टर भगवान् कोइरालाको टोलीले परीक्षण गरेको थियो । मेडिकल काउन्सिलका अध्यक्ष रहेका कोइराला सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सदस्य हुन् । हाल नेपाललाई करिब १ लाख थान पीपीई सामाग्री आवश्यक छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीका अनुसार हाल अस्पतालसँग दुई हप्ताका लागि आवश्यक पर्ने पीपीई मात्रै रहेको छ। वीर अस्पताल, भक्तपुर अस्पताल, सैनिक अस्पताल र पाटन अस्पतालसँग पनि सीमित मात्रामा रहेको छ ।