काठमाडौं । कोरोनाको आशंकामा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना नेगेटिभ पुष्टि भएको छ ।
तीनैजनाको स्वाब काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो ।
रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई आइतबारै राप्ती अस्पतालले डिस्चार्ज गरेको छ ।
कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई १४ दिनसम्म घरमै आइसोलेसनमा बस्ने सर्तमा डिस्चार्ज गरिएको प्रतिष्ठान कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।
यसअघि पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै आइसोलेसनमा राखिएका अन्य दुईजनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको थियो ।
गत बुधबारदेखि सञ्चालमा आएको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पनि तीनजना बिरामी आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट भने आउन बाँकी छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेसन छ ।