कोरोना संक्रमण (कोभिड– १९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा १६ हजार जनाभन्दा बढी कारवाहीमा परेका छन् । शुक्रबार एघारौं दिनसम्म काठमाडौं उपत्यकाका तीन जिल्लाबाट यो संङख्यामा कारवाहीमा परेका हुन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार पछिल्लो केही दिनयता लकडाउन उल्लङघनका घटना बढ्दै गएका छन् । पछिल्लो एक सातामा मात्रै ११ हजार जना भन्दा बढी कारवाहीमा परेका छन् । लकडाउनका समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निरुत्साहित गर्ने उद्देश्यले लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले कारवाही गर्दै आएको छ । मानिसहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक स्थानमै होल्ड गराउने र सवारी नियन्त्रणमा लिएर राति ८ बजेपछि फिर्ता गर्ने प्रहरीले गरिरहेको छ ।
‘लकडाउन’ कार्यान्वयन गराउन नेपाल प्रहरी, तथा सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय अहोरात्र खटिएका छन् । मानिसको आवतजावत र भिडभाड कोरोना संक्रमण फैलिने मुख्य कारण भएकाले पनि जनचेतनासँगै लकडाउन पालना गराउन प्रहरीले सांकेतिक कारबाहीसमेत गरिरहेको छ । यसरी कारवाहीमा पर्नेको संख्या पछिल्लो एक सातायता बढ्दै गएको छ ।
११ चैतदेखि लकडाउन सुरु भए पनि प्रहरीले सुरुवाती दिनमा लकडाउन उल्लंघन गर्नेलाई सम्झाइबुझाई गरेर सकभर घरबाहिर ननिस्कन आग्रह गर्दै आएको थियो । तर, अपेक्षाअनुसार बाहिर निस्कने क्रम नरोकिएपछि लकडाउन घोषणाको चौथो दिन अर्थात् १४ चैतदेखि अति जरुरी बाहेकको अवस्थामा आवत–जावतमा कडाइ सुरु गरेको थियो ।
प्रहरी एक्लैले चाहेर मात्र लकडाउन पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् । उनले भने, ‘सबै जनतामा सही सूचना प्रवाह भइसकेको छ, प्रहरीले डनडा लगाएर मात्र होईन सबैको साथ चाहिन्छ, हामीले सकेसम्म सम्झाई सम्झाई गरेर घरभित्रै बस्न आग्रह गरिरहेका छौं, समस्या भएका नागरिकलाई अत्यावस्यक सामाग्री राहतसमेत वितरण गरिरहेका छौं ।’
जथाभावी पास वितरणले सडकमा आवतजावत बढे
सरकारले अत्यावश्यक सेवा सुचालु राख्न लकडाउनको समयमा समेत आवतजावत सहज गराउने उद्देश्यले विशेष पासको व्यवस्था गरेको छ । तर जथाभावी पासको वितरण हुँदा सडकमा आवत जावत धेरै देखिएको छ । अवस्था र आवश्यकता हेरेर एक दिन, तीन दिन र सात दिन गरी तीन किसिमको पासको व्यवस्था गरिएपनि अनावश्यक र असम्बन्धित व्यक्तिलाई पास दिइएको गुनासो आएको छ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक अवस्थामा आवतजावत गर्नेहरूका लागि मात्र पास वितरण गर्ने भनिएपनि त्यासे नभएको भन्दै धेरैले आलोचना गरेका छन् ।
अहिले स्वास्थ्यकर्मीको हकमा स्वास्थ्य मन्त्रालय, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीका लागि राष्ट्र बैंक, सञ्चार संस्थामा कार्यरत पत्रकारको हकमा सूचना विभागलगायतले विशेष पास वितरण गरिरहेका छन् । तर, पछिल्लो समय स्थानीय तहले समेत आफूखुसी अत्यावश्यक भन्दै पास वितरण गर्न थालेपछि लकडाउन कार्यान्वयन गर्नै कठिन हुन थालेको छ । नगरपालिका तथा वडा कार्यालयले दिएको चिट्ठी लिएर आवतजावत गर्ने क्रम बढेको छ । जसका कारण सर्वसाधारणलाई नियमन गर्नसमेत अप्ठ्यारो परेको छ ।