मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ ।
लकडाउन उल्लंघन रोक्न खोज्दा स्थानीय नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।
कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर रोक्ने प्रयास गरेको थिए ।
तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्नलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिएका छन् ।
घटनामा संलग्न स्थानीय २८ वर्षीय विजय लिम्बुलाई पक्राउ गरिएको हो । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।’
पटक–पटक लिम्बु र तामाङबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
छुरा प्रहारबाट तामाङको बायाँ छातीमा गहिरो चोट लागेको छ । उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।