काठमाडौँ । कोरोना भाइरसबाट विश्व मुक्त होस् भन्ने कामना गर्दै नेपालका विभिन्न भागमा दीप प्रज्वलन गरिएको छ ।
काठमाडौँ, विराटनगर, वीरगन्जलगायतका कतिपय स्थानमा दीप प्रज्वलन गरिएको समाचार प्राप्त भएको छ । बूढानिलकण्ठस्थित न्यु काेलनी टोल सुधार समितिले आइतबार साँझ दियो प्रज्वलित गर्दै कोरोना भाइरसबाट मुक्तिको कामना गरेको छ । त्यसै गरी काठमाडौँका कतिपय घरमा दीप प्रज्वलन गरिएको थियो ।
वीरगन्जमा पनि दीप प्रज्वलन गरी सुस्वास्थ्यको कामना गरियो भने विराटनगरमा पनि कतिपय घरमा दीप प्रज्वलन गरिएको थियो । मोरङको बुढीगंगा गाउँपालिकास्थित पुष्पलाल चोकका स्थानीयवासीले पनि दीप बालेर विश्व स्वास्थ्यको कामना गरे ।
शास्त्रीय मान्यताअनुसार उपयुक्त भन्दै आइतबार साँझ ७ बजेर ७ मिनेटदेखि राति ९ बजेर ९ मिनेटको समयसम्म सबै नेपालीलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको थियो ।
हिन्दु धर्म तथा मान्यताअनुसार विशेष योग रहेकोले दीप प्रज्वलन गर्दा निकै शुभ हुने जानकारहरूले बताएका थिए । ज्योतिष वासुदेव कृष्ण शास्त्रीले संसारभर फैलिएको कोरोना भाइरसको महामारीबीच विश्व कल्याण र शान्तिको काममासहित दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरेका थिए ।
उनले दीप बालेर प्रार्थना गर्दा विभिन्न तनावबाट छुटकारा मिल्नुका साथै मानिसमा सकारात्मक उत्साह बढ्ने जनाएका थिए ।
बासुदेव कृष्ण शास्त्री, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सङ्गठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सह सङ्गठन सचिव रमेश कँडेल र हिन्दु स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय कार्यवाहक (महामन्त्री) मुरली निरौलाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरेका थिए ।
आइतबारको साँझ सिद्धिकारक योग (दुर्लभ समय) परेकोले यस क्षणमा दीप प्रज्वलन गरी विश्व कल्याण र शान्तिको काममा गर्न सबैमा अपिल गरिएको थियो ।
उता भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा राति ९ बजेर ९ मिनेटदेखि दीप प्रज्वलन गरिएको थियो । मोदीले भारतवासीलाई दीप प्रज्वलनमा सरिक हुन अपिल गरेका थिए ।