कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरूलाई असर गरेको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरूलाई असर परेको हो । औषधि सेवन गर्दै आएका संक्रमितहरूले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो । राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरूको घरघरमा औषधि पुर्याएर सहजता प्रदान गरे पनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए।
अहिले एचआईभी संग सम्वन्धित काम गर्दै आएका संघ संस्थाहरूको समन्वयमा घर घरमा औषधि पुर्याउन थाले पनि एक स्थानीय निकाय देखि अर्को जान बन्द गर्ने निर्णय सँगै भने समस्या आउन सक्ने उनको भनाइ छ ।
हाल देशभर १८ हजार ५ सय ५५ जना एआर्टी लिनेको संख्या रहेका छन् । समाजमा विद्यमान कुरीति र कुप्रथा एवं सामाजमा ब्याप्त पुरानो विचार धारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधि लिनेहरूमा समस्या देखिको छ । यद्यपी महासंघले आपसि समन्वयमा सम्बन्धि जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि त्तकाल समस्या समाधान गरिहेको छ ।
एचआइभी संक्रमितले लिदै आएको औषधि एआर्टीको स्टक दुई महिनाको लागि मात्र रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।
काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिदैं आएका छन् । ठुलो संख्यामा औषधि लिने एकै मात्र एआर्टी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधि लिनेहरूको घर घर औषधि पुर्याउने काम भइरहेको छ । हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरूले औषधि लिदै आएका छन् । यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।