कोराना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरूको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार जरिवानासहित आफ्नै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको मङ्गला गाउँपालिका योजना शाखाका कर्मचारी सिजन रोकाले जानकारी दिनुभयो ।
म्याग्दीको मङ्गला र बाग्लुङको ताराखोला गाउँपालिकाले दुईवटै स्थानीय तह जोड्ने देउरालीको सिमानाबाट आवतजावत गर्नेलाई क्वारेन्टाइन र पाँच हजार नगद जरिवाना गर्ने निर्णय भएको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए । साथै, बाग्लुङतर्फबाट बिभिन्न नाका हुँदै पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।
साथै म्याग्दीको बेनी नगरपालिका—२ ज्यामरुककोटले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकलाई राहत वितरण सुरु गरेको छ ।
वडाअध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडा सचिव राजाराम शर्मा सापकोटालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले मङगलबार बगरफाँट र खबराका विपन्न एंव श्रमिक परिवारलाई राहत वितरण गरेका हुन् ।
पहिलो चरणमा लकडाउनका कारण आयस्रोत गुमेर प्रभावित भएका ज्यामरुककोटका ८९ परिवारलाई राहतका लागि छनोट गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए । वडा कार्यालयमा प्राप्त आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरूको बैठकले ती परिवारलाई छनौट गरेपछि राहत वितरण गर्न थालिएको उनले बताए । उनका अनुसार, प्रति परिवार एक बोरा चामल, तीन किलोग्राम दाल, २ किलोग्राम नुन, चार लिटर खाने तेल, दुई किलोग्राम चिनी र ४ वटा साबुनका दरले राहत वितरण गरिएको छ ।