सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को रोकथामका लागि लकडाउन गरेसँगै देशभर रगको अभाव भएको छ । यसअघि ठुला दुर्घटना तथा विपत्तिमा रगतको अभाव हुने गरिएजस्तै यसपटक पनि अभाव बनेको हो । कोरोनाको महामारीमा अस्पतालले पनि अत्यावश्यकबाहेक तत्कालका लागि स्वास्थ्य–उपचारमा कटौती गर्न बाध्य बनेका छन् ।
काठमाडौमात्र दैनिक ३ सयदेखि ४ सय युनिट हाराहारीमा रगत आवश्यक हुन्छ । देशभर ७ सयदेखि ८ सय युनिट आवश्यक हुन्छ । लकडाउनको प्रभावले अहिले १० देखि २० प्रतिशत मात्र रगतको माग रहे पनि धान्न मुस्किल परिरहेको रक्त सञ्चार केन्द्रले जनाएको छ । चैत ११ देखि लागू गरेको लकडाउन दुई पटक थपेर वैशाख ३ सम्म लम्बिएको छ । लकडाउनले विभिन्न क्षेत्रमा असर परेसँगै रगत खोजीमा रहेकाहरूले दुःख पाई रहेका नेपाल रक्तसञ्चार केन्द्रले जनाएको छ ।
रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत अवस्थामा रगत आवश्यक हुने गर्छ । त्यसका साथै ल्युकेमिया, हेमोफिलिया, थालेसेमियाका रोगीलाई पटकपटक रगतको आवश्यकता पर्छ । रगतका समूहमध्ये ‘ओ’ र ‘ए’ सहज रूपमा पाउन सकिने अवस्था भए पनि ‘बी’ र ‘एबी’ को अभाव भएको रक्तसञ्चार केन्द्रले जनाएको छ । यस्तै नेगेटिभ रगत झनै अभाव छ । यस्ता बिरामी अहिले मर्कामा परिरहेका छन् ।
रगत सङ्कलन गरी वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकृत दिव्यराज पौडेलले रगत सङ्कलन कम भएको बताएका छन् । उनले भने ‘अहिले रगतको माग कम भए पनि नेगेटिभ रगत कम छ, यस कारण इच्छुक दाताले ११३० मा फोन गरेर नाम टिपाएर केन्द्रमा आई रक्तदान गर्न सक्नेछन्, रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले स्वयंसेवी रक्तदाताबाट टोलटोलमै पुगेर सङ्कलन र व्यवस्थापनमा सहयोग गरिरहेको छ ।’
लकडाउनमा रगत व्यवस्थापन गर्न गाह्रो भइरहेको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । उनले भने, ‘लकडाउनमा घरबाहिर निस्कन नमिल्ने भएकाले अरू बेलाभन्दा अहिले बिरामीलाई रगतको जोहो गर्न अप्ठेरो छ ।’
पछिल्लो समय भिडभाड गर्न नमिल्ने भएकाले पहिलेजस्तो रक्तदान शिविर गरिएका छैनन् । कोरोनाको भयले धेरैजसो दाता बाहिर जान त्यति सहज मान्दैनन् । तर स्वस्थव्यक्तिले रक्तदान गर्न सक्छन् । नजिकको स्वास्थ्य संस्था तथा अस्पतालका रक्तसञ्चार इकाईमा गएर रगतदान गर्न सकिने केन्द्रय रक्त सञ्चार केन्द्रले जनाएका छ ।