म्याग्दी । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको छ । लामो समयसम्मको लकडाउनका कारण सहरबजार र गाउँघरका मानिसहरू घरभित्रै बस्नुपर्दा अतास्सिएका छन् ।
कोरोनाको कहरले कतिपय मानिसहरू आफ्नो पेशा, व्यवसाय वा दैनिकीमा नै ठूलो समस्या उत्पन्न गरिदिएको बताइरहँदा म्याग्दीका एक युवाले भने कोरोनाको कहरलाई पनि अवसरमा परिणत गरेका छन् । म्याग्दीको बेनी नगरपालिका—२ ज्यामरुककोटका विक्रम बोहोरा लकडाउनलाई अवसरका रुपमा उपयोग गर्न जान्नुपर्छ भन्ने भनाइलाई आत्मसात गरेका छन् । सहर बजारका मानिसहरू घरबाट बाहिर निस्कन नपाएको गुनासो गरिरहेका बेला बोहोराले भने बाँस र निगाँलाबाट बन्ने कृषि कर्ममा प्रयोग हुने नेपाली मौलिक सामग्री बनाउन व्यस्त छन् । उनले बाँस र निगाँलाबाट बन्ने थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो (पिरिङ्गो), नाङ्गलो, सोली, कोर्को, डोका, स्याखुलगायत विभिन्न सामग्री बनाई त्यसको बिक्रीबाट घरमै बसीबसी राम्रो आम्दानी गरिरहेका छन् । लकडाउनको एक महिनासम्म घरमा नै बसेर उहाँले ती सामग्री बिक्री गरी रु २५ हजार भन्दा बढी आम्दानी गरेको बताए ।
त्यसका अतिरिक्त उहाँले बुनेका चोयाका सामग्री फोहोर सङ्कलनका लागि गाउँका टोलटोलमा राखिएको र त्यो सबै उनले निःशुल्क दिनुभएको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए । लकडाउनको अवधिमा डोको, स्याखु, चाङ, नाम्लो, फुर्लुङ, पेटार्रोे टोकरो बनाएको बोहोराले बताए । “जताततै कोरोनाको त्रास छ, गाउँमा डुल्नु पनि भएन, खाली के बस्नु भनेर आफूले बाँस र निगाँलो खोजेर चोया काढि कृषि कर्ममा प्रयोग हुने सामग्रीहरू बनाउन थालेको छु”, उनले भने, “दिन कटाउन पनि सजिलो भएको छ, आम्दानी पनि भएको छ ।” त्यसो त, बोहोराले लोपोन्मुख अवस्थामा रहेको स्याखु पनि बनाएका छन् । “हाम्रा हजुरबुवा आमाको पालामा छाताको विकल्पमा स्याखुको प्रयोग गरिन्थ्यो”, उनले भने, “अहिले यसको प्रयोग हराएको छ, आफ्ना पुर्खाको पुख्र्यौली सीप र सामग्रीको संरक्षण गर्न मैले स्याखु बुनेको हुँ, बिक्रीका लागि होइन ।”
पहिला पहिला मेलापात जाँदा स्याखु ओढ्ने गरिन्थ्यो । स्याखु चोयाबाट बुनिएको हुन्छ भने भित्री पाटोमा कटुसका पात वा प्लाष्टिकले मोडेर पानी छिर्न नसक्नेगरी बनाइएको हुन्छ । जसले टाउकोदेखि कम्मरसम्मको भागलाई छोप्ने गर्दछ । दक्ष व्यक्तिले मात्र स्याखु बनाउन सक्छन । बोहोराले भने, “नाम्ला, डोका, थुन्से लगायतका सामग्री बनाउन मलाई, मेरो बाबाले सिकाएका थिए । हाम्रो संस्कृति र परम्परा बोकेको पुर्ख्यौली पेशा र बुवाको सीपलाई निरन्तरता दिनेछु ।” गाउँघरमै सजिलै पाइने बाँस र निगाँला काटेर, केही दिन पानीमा ढडाएपछि चोया काढेर यी सामग्री बनाउने सकिने उनले बताए ।
सबै आ-आफनै घरघरमा लकडाउनमा बसेका समयलाई उनले भने आफनो सीप ‘पुस्तान्तरण’को अवसर ठान्दै उपयोग गरेका छन् । लकडाउनको समयमा बाहिर ननिस्कन र घरमा नै बसेर विभिन्न रचनात्मक र सिर्जनशील कामहरू गर्न उनले सबैलाई आग्रह पनि गरे ।