मंसिर ०७, २०८१, शुक्रबार
               

एचआईभी सङ्क्रमितलाई घरघरमै औषधि

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण औषधि लिन समस्यामा परेका बागलुङका एनआइभी सङ्क्रमितलाई घरघरमै औषधि सेवा प्रदान गरिएको छ ।

एनआइभी सङ्क्रमितको सेवाका लागि धौलागिरी अञ्चल अस्पतालमा स्थापित एआरटी सेन्टरले सङ्क्रमितको घरघरमै पुगेर औषधि (एआरभी) सेवा दिइरहेको छ । दैनिक रुपमा नियमित सेवन गर्नुपर्ने रोग प्रतिरोधी क्षमता बढाउने उक्त औषधि सकिएका सङ्क्रमितलाई सहज होस् भनेर सङ्क्रमितको घरमा नै पुगेर औषधि वितरण भइरहेको एआरटी सेन्टरका परामर्शदाता प्रदीप आचार्यले जानकारी दिए ।

एनआइभीको औषधि अन्य स्थानमा पाइँदैन र गोपनियताका हिसाबले पनि निकै संवेदनशील भएकाले सङ्क्रमितको हातहातमै औषधि पुर्‍याउँदै आएको आचार्यको भनाइ छ । “लकडाउनका कारण सङ्क्रमितहरु औषधि लिन एआरटी सेन्टरमा आउन नसकेकाले आफैँ सङ्क्रमितलाई सम्र्पक गरेर औषधि पुर्‍याउँदै आएको छु”, आचार्यले भने, “सङ्क्रमितले नियमित खानुपर्ने औषधि १० वटै स्थानीय तहका गाउँगाउँमै पुगेर प्रत्यक्ष वितरण गर्दै आएको छु ।” एनआइभी सङ्क्रमितलाई औषधि पुर्‍याउन धौलागिरि अञ्चल अस्पतालसँग एआरटी सेन्टरले समन्वय गरिरहेको छ । सङ्क्रमितको गोप्यताका कारण स्वास्थ्यचौकीमार्फत औषधि दिन नमिल्ने भएकाले सङ्क्रमितको घरमै पुगेर औषधि दिनुको विकल्प नरहेको आचार्यको भनाइ छ ।

कतिपयले फोनमा सम्पर्क गरी राजमार्गसम्म औषधि लिन आफै आउनेसमेत गरेका छन् । बागलुङमा कूल ३९९ जना सङ्क्रमित खुलेका भए पनि नियमित सम्पर्कमा रहेर १६३ जनाले औषधि तथा अन्य परामर्श लिँदै आएका छन् । लकडाउन अगाडि वितरण गरिएको औषधि सकिँदै जान थालेपछि घरमै औषधि पुर्‍याउन थालिएको थियो । उक्त औषधि नेपाल सरकारबाट निःशुल्क रुपमा उपलब्ध हुन्छ ।

बाहिर उक्त औषधि खरिद गर्न नपाइने भएकाले सेन्टरले नैै जिल्लामा यो औषधि सङ्क्रमितलाई वितरण गर्ने गरेको छ । एनआइभी सङ्क्रमितले भाइरसको प्रभाव कम गर्न दैनिक रुपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर सङ्क्रमितको स्वास्थ्यमा असर पर्ने भएकाले औषधि घरमै पुर्‍याउन थालिएको हो ।


कस्तो लाग्यो ?

यो पनि