मंसिर ०७, २०८१, शुक्रबार
               

क्वारेन्टाइनमा बसेका ३३७ जना घर फर्किए

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

लम्की । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो ।
 
टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वदेशभित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम क्वारेन्टाइनमा पठाउने भन्ने प्रदेश सरकारको पत्रानुसार घर पठाइएको जानकारी दिए । ‘नेपालका अन्य जिल्लाबाट आएकाहरु घर फर्काएका छौँ’, नगरप्रमुख रावलले भने, ‘कर्णाली मावि सत्तीमा रहेको  क्वारेन्टाइनमा आठ भारतीय नागरिक राखिएका छन् । उनीहरुलाई १४ दिन पूरा भएपछि मात्र पठाइनेछ ।’

नगरपालिकाले बाहिरबाट आएका मानिस टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि सत्ती, राष्ट्रिय मावि बेलुवा र सेतीमैंया मावि झुङ्गामा गरी चार क्वारेन्टाइनमा रहेका ३३७ जना घर फर्काएको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पनि त्यहाँका सरस्वती मावि दुर्गौली, जनता मावि मुनुवा र मोति मावि मोतिनगरमा स्थापना गरिएका तीन क्वारेन्टाइनमा रहेका २१४ नागरिकलाई घर फर्काउन लागिएको जानकारी दिए ।

काठमाडौंदेखि आई टीकापुर बहुमुखी क्याम्पसमा चार दिन बसेर फर्किनुभएका प्रकाश चौधरीले अरु १० दिन बसेर स्वास्थ्य जाँच गरेर घर जान पाए राम्रो हुने प्रतिक्रिया दिए । ‘चौध दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्काएको भए हुन्थ्योँ’, चौधरीले भने, ‘म त स्वास्थ्य परीक्षणपछि घर फर्काएको भए ढुक्क हुन्थेँ ।’

टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले १४ दिनपछि घरबाट बोलाएर क्वारेन्टाइनमा राखिएका सबैको र्यापिड टेष्ट गरिने जानकारी दिए । ‘अहिले हामीले घर फर्काए पनि होम क्वारेन्टाइनमा बस्न भनेका छौँ’, संयोजक रावलले भने, ‘घर फर्किएर छुट्टै बस्नुपर्नेछ ।’
    
टीकापुरमा दुई हजार ७०० लाई राहत वितरण

टीकापुर नगरपालिकाले राहत वितरणमा तीव्रता दिएको छ । नगरपालिकाले आठ वडामा वितरण गरिसकेपछि धेरै लाभग्राही भएको टीकापुर–१ मा भने वितरण जारी राखेको छ । नगरपालिकाले वैशाख ११ गतेसम्म लकडाउनका कारण प्रभावित अतिविपन्न दुई हजार ७९० परिवारलाई राहत पुर्याएको जनाइएको छ ।
    
राहात पाउनेमा वडा नं १ का एक हजार २२६ परिवार छन् भने वडा नं २ देखि ९ सम्ममा एक हजार ५६४ परिवार छन् । वडा नं १ का ३०० परिवारलाई शुक्रबार मात्रै राहत दिएको छ ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले शुक्रबारदेखि खाद्यान्न पाइएकाले अब निरन्तररूपमा वितरण गरिने जानकारी दिए । ‘राहतका लागि आवश्यक खाद्यान्न खरिद गरेका छौँ’, प्रमुख रावलले भने, ‘अब चार–पाँच दिनभित्र वितरण कार्य सक्छौँ ।’
 


कस्तो लाग्यो ?

यो पनि