काठमाडौं । सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा सरहको मान्यता दिएको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो अवधिलाई सार्वजनिक बिदा कायम गर्ने जनाएको राससले लेखेको छ । लडडाउनलाई सार्वजनिक बिदा मानेपछि यो अवधिको तलब तथा सुविधा कानुनत कर्मचारीले पाउने छन् ।
राजपत्रमा जारी गरिएको सूचनामा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ ।
सूचनामा आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने छन् । सूचनामा भनिएको छ- 'त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।'
यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले पटकपटक यो अवधिको सेवा सुविधा मजदुर तथा कर्मचारीलाई उपलब्ध गराउन आग्रह गर्दैआएका थिए ।