नेपालगन्ज उपमहानगरपालिकालाई आज (मङ्गलबार) देखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ। कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि निषेधाज्ञा लगाउने सोमबार निर्णय भएको थियो ।
सर्वपक्षीय बैठकको निर्णय अनुसार आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यरात १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरूलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने उनले बताए । बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ । नेपालगन्जमा गएको २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यसैबीच कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरूले पनि सतर्कता अपनाएका छन् । बाँकेमा पछिल्लापटक ७ सङ्क्रमित थपिएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।