नेपाल सरकारले स्वदेश फकार्उन चासो नदिँदा आफ्नै खर्चमा स्वदेश आउन चाहेका ६ सय बढी नेपाली अमेरिकामा अलपत्र परेका छन् । नेपाल फर्कन चाहनेहरूले समूह नै बनाएर, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गरे पनि सरकारले चासो नदिएपछि उनीहरूको बिचल्ली भएको छ । औषधि उपचारको समस्यादेखि भिसाको म्याद सकिने समस्या, भिसाको म्याद बढाएर बस्दा आर्थिक भार थपिने जटिलता, रोजगार गुमेको अवस्था, नेपालबाट पनि आर्थिक सहयोग गर्न नसकिने अवस्था लगायतले गर्दा अमेरिकाबाट नेपाल फर्कने चाहना राख्नेहरू दिनदिनै बढिरहेका छन् ।
नेपाल सरकारलाई कुनै आर्थिक भार पर्न नदिनेगरि आफ्नै खर्चमा जान तयार रहेको भन्दै स्वदेश फर्कन चाहनेहरूले सामाजिक अभियन्ता तथा प्रतिष्ठित व्यवसायी कम्पनी बतास अर्गनाईजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासको नेतृत्वमा पहल गरिरहेका छन् । उनीहरूले नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घदेखि विभिन्न निकायमा छलफल गरिरहेका छन् । यता नेपालबाट समेत केही सहयोगीहरूले सरकारका मन्त्रीदेखि परराष्ट्रका विभिन्न उच्च अधिकारीसँग अन्तर संवाद गरिरहेका छन् । उनीहरूले आफ्नै खर्चमा विमान चार्टर गरेर स्वदेश आउने र सरकारले भनेको ठाउँमा पैसा तिरेरै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता समेत जनाएका छन् । तर सरकारले चासो नदिँदा उनीहरू अमेरिकामै बन्धक बनेर बस्न बाध्य भएका हुन् ।
स्वदेश फर्कन चाहनेहरूको पोखरामा प्रधान कार्यालय रहेको बतास अर्गनाइजेशनले विवरण सङ्कलन गरिरहेको छ । बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले नेपाल सरकारसँग समन्वय गर्ने काम भईरहेपनि सहयोगको प्रतिबद्धता नआएको भन्दै गुनासो गरेका छन् । अमेरिका बसाइमा अन्योल भएको र स्वदेश फर्किन चाहनेहरूलाई जम्मा गरे पनि सरकारले स्वदेश छिर्न अनुमति नदिएको उनको गुनासो छ ।
‘सीमित समयको लागि आएकाहरूको खर्च सकिएका छन्, धेरैका औषधी सकिएका छन्, उनीहरू करिब ५ सय जनालाई हामीले जम्मा पारेका छौँ., तर अमेरिका तथा विश्वभरबाट नेपाल फर्किन चाहना भएकाहरूको सूचना सङ्कलन गरिरहेका छौँ,’ शान्ताराज बतासले नेपाल फ्ल्याससँग भने, ‘हामी आफ्नै खर्चमा जान्छौँ, अनि सरकारले तोकेका सबै नियम पालना गछौं, मात्रै हामीलाई स्वदेश फर्काउन सरकारले पहल गरिदियोस् भनिरहेका छौँ ।’
हवाई भाडादेखि क्वारेन्टाइन शुल्क आफैं तिर्न तयार
अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासका अनुसार सरकारले चाँडै सहयोग गरेमा टेक्सासबाट मानिसहरू सङ्कलन गरी वासिङ्टन डिसीबाट नेपालका लागि सिधा उडान भरिने जानकारी दिए । उनले भने ‘हामीले नेपाल फर्कन चाहनेहरूलाई लैजानका लागि नेपाल सरकारसँग सामूहिक रूपमा आव्हान गरिरहेका छौँ । नेपाल जाने बित्तिकै सेल्फ क्वारेन्टाइनमा पनि बस्ने छौँ ।’
विषेशगरी भ्रमण भिसामा गएकाहरू, विद्यार्थीहरू, छोटो अवधिका लागि विभिन्न तालिममा गएकाहरू बढी समस्यामा परेका शान्ताराज बतासले बताए । अमेरिकाबाट नेपाल जान चाहनेहरूको निम्ति नेपालबाट सहयोगी भूमिका निभाइरहेका शैलेन्द्र गुरागाईले नेपाल सरकारले चाडै आवश्यक पहल गर्नुपर्ने बताउँछन् । नेपाल सरकारलाई आर्थिक भार समेत नपर्ने गरी हवाई भाडा तिर्ने देखि क्वारेन्टाइनका लागि होटलहरूको व्यवस्था गर्नेसम्मको काम गरिसकिएको उनले जानकारी दिए ।
विषेशगरी छोटो समयको लागिगएका व्यक्तिहरू तथा अमेरिकामा अध्ययनरत विद्यार्थीहरू, समस्या छन् । भिसा सकिएपछि नवीकरणको लागि५ सय डलर तिर्नु नसक्ने अवस्था धेरैको छ । उनीहरू भन्छन् ‘नेपाल सरकारले त्यहाँ ल्यान्ड गराउने अनुमति मात्रै दिए हुन्छ, हामी आफै सबै व्यवस्था गछौं ।’
सरकार भन्छ – ‘पर्याप्त गृहकार्य गर्नुपर्छ’
सरकारले भने अमेरिकामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने बारेमा पर्याप्त गृहकार्य गर्नुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘बाहिरी मुलुक जान दिने सम्बन्धित मुलुकको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाए स्वदेश ल्याउन सकिन्छ, यसबारेमा पर्याप्त गृहकार्य गर्नुपर्ने हुन्छ ।’
यसअघि परराष्ट्र मन्त्रालय लेनै नेपालीहरूलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको थियो । परराष्ट्र मन्त्रालय मार्फत विदेशका देशका कूटनीतिक नियोग मार्फत नेपाली आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरिरहेको छ । अमेरिकाका नेपालीहरू आफ्नै खर्चमा आउने र आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएकाले यसबारेमा सोच्न सकिने जनाएको हो ।