मंसिर ०७, २०८१, शुक्रबार
               

अब उपभोग्य सामग्री घरघरमै पुर्‍याइने

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

लकडाउनका बेला पनि सर्वसाधारणको चहलपहल जारी रहेपछि धनगढीमा कडा बनाउने निर्णय गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले लकडाउनका बेला मोटरसाइकल चलाउन तथा हिँड्डुल गर्न निकै कडाइ गर्न थालेको छ । यस्तै धनगढीमा खाद्यान्न पसलहररू बिहान तीन घण्टामात्रै खुला गर्ने निर्णय सरोकारावालाको बैठकले गरेको छ ।

उपमहानगरपालिका, कैलाली उद्योग वाणिज्य संघ, किराना व्यवसायी संघलगायत सरोकारवालाको बैठकले खाद्यान्न पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको हो । 

यसअघि बिहान र बेलुकी खाद्यान्न पसलहरु खुला गर्ने गरिएको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउनको समयमा बिहान र बेलुकी बजारमा भीड हुन थालेपछि कडाइ गरिएको बताए । औषधी किन्ने निहुँमा एक पत्ता औषधी खल्तीमा हालेर बजार हिँड्ने गरेकोसमेत पाइएको उनले जानकारी दिए । 

प्रजिअ बोहराले खाद्यान्न, तरकारीलगायत सामग्री किन्न भनेर साँझ, बिहान बजारमा निस्कनेहरु बढेकाले ब्यापारीहरुलाई अर्डर लिएर घरघरमा सामान पुर्‍याउन आग्रह गरेको बताए । 

यस्तै धनगढी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र किराना व्यवसायी संघबीच भएको छलफलमा खाद्यान्न, तरकारी, ग्यासलगायतका सामान घरघरमै पुऱ्याउने सहमति भएको छ । बिहान तीन घण्टा पसल खोल्ने र अरुबेला स्थानीय प्रशासन र उपमहानगरको समन्वयमा घरघरमै सामान पुऱ्याउन घुम्ती पसल सञ्चालन गर्ने निर्णय भएको नगर प्रमुख नृपबहादुर वडले बताए ।

खाद्यान्नलगायत सामग्री घरघरमै पुऱ्याउन व्यवसायीहरुलाई संघले आव्हान गरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले बताए । 


कस्तो लाग्यो ?

यो पनि