सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज (सोमबार) ५६ दिन पुगेको छ । अरुदिनजस्तै अत्यावश्यकबाहेक सबै सेवा बन्द छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरू खोल्न दिने निर्णय गरेको थियो । तर देशभर सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरि कडाइ गरेको छ ।
सरकारले लकडाउनको समय अवधि १५ दिन थप गरी जेठ २० गतेसम्म पुर्याएको छ । यसअघि तोकिए अनुसार सोमबार मध्यरातपछि लकडाउन सकिँदै थियो । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको हो । सोमबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा लकडाउनको पालना भएको पाइएको छ । सुरक्षाकर्मीले चोक चोकमा बसेर सवारी साधनको चेक जाँचलाई कडाइ पारेको छ ।
अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै मानिसहरूको आवागमन पनि न्यून छ । सडकका विभिन्न ठाउँमा नेपाली सेनाले समेत चेकजाँच गरेको छ । नेपाली सेनाको पोसाक दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले पनि चेक जाँच सुरु गरेको हो ।