काठमाडौं भित्रिने मूख्य नाका नागढुंगामा स्थानीय युवाका समूहबाट स्वास्थ्यकर्मी डा. नारायण कार्की दुर्व्यवहारमा परे । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीलाई स्थानीय उत्तम कार्कीलगायतका समूहले अभद्र व्यवहार गरेका थिए । गत शुक्रवार बिहान कार्कीसहितका व्यक्तिले नागढुंगा नाकामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेका थिए । परिचय पत्र देखाउँदा पनि खानतलासी लिएका थिए । सो गतिविधिको उनीहरूले फेसबुक लाइभ समेत गरेका थिए । भिडियो हेरेपछि व्यापक जनदबाबपछि प्रहरीले आइतबार चेकजाँच गर्ने युवा उत्तम कार्कीलाई नियन्त्रणमा लियो ।
कोरोना भाइरस बोकेका मानिसहरू काठमाडौं उपत्यका नभित्रिउन् भनेर विभिन्न नाका कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो । लकडाउनमै काठमाडौंमा सवारी जाम देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आक्रोश पोखेका थिए । एकातिर लकडाउन भनिरहने र अर्कातिर सीमाबाट पनि काठमाडौंभित्र मानिस आइरह्यो । त्यो हुँदा लकडाउनको अर्थ नभएको भन्दै काठमाडौं उपत्यकाबासी असन्तुष्ट देखिन्थे । ‘कि त लकडाउनको पूर्ण पालना हुनुपर्याे, नभए लकडाउन गर्नुको अर्थ रहन्न’ स्थानीयको आक्रोश थियो ।
उपत्यकामा अलपत्र मजदुरका कारण समस्या सिर्जना भएको निष्कर्षपछि गृह प्रशासनले अनौपचारिक रूपमा मजदुर लैजान सवारी आवागमन खुकुलो बनाएको थियो । अप्ठ्यारो परिस्थितिमा रहेका सबै मजदुर र विद्यार्थी सम्बन्धित जिल्लामा पुगिसकेका थिए । काठमाडौंबाट बाहिर दिने भनिए पनि भित्रिन नदिने सरकारको निर्णय थियो । अत्यावश्यक अवस्थामा हिँड्नका लागि पनि कडाइ गरिएको भनिए पनि काठमाडौं भित्रिने दिनप्रतिदिन बढिरहे ।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई एक जिल्लाभित्र मात्र लागु हुने गरी पास दिने आदेश जारी गर्यो । अत्यावश्यक अवस्थामा जिल्ला बाहिर पठाउनु परे वा अर्को जिल्लाबाट मानिस भित्र्याउन परेमा सम्बन्धित जिल्लाको प्रशासनलाई पनि खबर गर्न भनियो ।
तर त्यो नियमको उल्लङ्घन काठमाडौं भित्रिने मुख्य नाकाबाटै भयो । सरकारले उपत्यका छिर्ने नाकामा कडाइ गरेको बताइरहे पनि गत साता मात्रै काठमाडौं झन्डै २५ हजार मानिसहरू भित्रिए । पैदल हिँडेर आउने उत्तिकै थिए भने, ५ हजार बढी सवारी साधनमा ती मानिसहरू भित्रिएका थिए । काठमाडौं भित्रिने अरू नाकाहरू चोभार र कोटेश्वर र बालाजु बाइपासमा बस्ने सुरक्षाकर्मीले भने माथिको आदेश अनुसार नाकामा कडाइ गरे । उता धेरै मानिसहरूको आवागमन हुने नाका थानकोट, नागढुंगामा भने खुकुलो बन्दै गयो ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) को कमाण्डमा रहेको महानगरीय प्रहरी वृत्त थानकोट र त्यही मातहत रहने र महानगरीय प्रहरी प्रभाग नागढुंगाले सो नाका हेर्ने गर्छ । तर सो निकायले नाका कडाइ गर्न चासो नदिँदा गत सातामात्रै सोही नाकाबाट ३ जना कोरोना सङ्क्रमित काठमाडौं भित्रिए । जसमध्ये २ जना सोही क्षेत्र चन्द्रागिरि नगरपालिकाकै हुन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रिपरिषद् बैठकमा असन्तुष्टि जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरूको टोली नागढुंगा नाकाको निरीक्षणमा निस्किएका थिए । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आइजिपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतको टोली गत मङ्गलवार साँझ नागढुंगा नाकाको अवलोकन गरेको थियो ।
त्यसअघि पनि सो नाकाबाट अनावश्यक मानिसहरू भित्रिएको भन्ने गुनासोको आएपछि उपत्यका प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतले निरीक्षण गरेका थिए । उनीहरूले थानकोट बृत्तलालाई नाकाको चेक जाँच कडाइ गर्न निर्देशन दिएका थिए । तरपनि सो नाकाबाट अत्यावश्यक सेवा बाहेकका सवारीसाधन भित्रिन छाडेन । कोरोना भाइरस बोकेका मानिसहरू समेत नागढुगा नाकाबाटै भित्रिन थाले । उपत्यकामै कोरोना सङ्क्रमित आएपछि सबैमा त्रास त छँदै थियो, भित्रने मुख्य नाका क्षेत्रमा बसेका चन्द्रागिरिका स्थानीय त्रसित नहुने कुरै भएन । यसरी प्रहरीको भूमिकामा असन्तुष्ट भएका स्थानीय यूवाहरु नै नाकामा चेक जाँचमा खटिए । उनीहरूले चेक जाँच गरेका प्रहरीलाई समेत थाहा थियो ।
चेकजाँचमा खटिएका स्थानीय युवाहरूले बिहीबारबाटै नाका कडाइ गर्न थाले । प्रहरीले जान दिएका केही सवारीलाई समेत ती युवाहरूले फर्काइदिए । बिहीबार उपत्यका भित्रिन लागेका ५० बढी सवारी साधनलाई चेकजाच गरेका स्थानीयले बताएका छन् । ‘हामीले पहिलो दिन ४० वटा सवारी रोकेर चेक गर्दा अत्यावश्यक कामका लागि आएका ३४ सवारी काठमाडौं भित्रन दियौँ, बाँकी ६ वटाका भने अत्यावश्यक काम नभएकाले उतै फर्काइदियौं ’ उनले नेपाल फ्ल्याससंग भने ।
यस्तै, भोलिपल्ट शुक्रवार पनि ३० भन्दा बढी सवारी चेकजााँच गरेको पक्राउ परेका उत्तम कार्कीले बताएका छन् । त्यो समयमा अनावश्यकामका लागि हिँडेका वा अत्यावश्यक काम नभएका केहीलाई युवाको समूहले फर्कायो । त्यही दिन बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले काठमाडौं आउँदै थिए । उनलाईपनि सोही समूहले रोक्यो ।
सोधपुछ गर्ने क्रममा अरूलाई भन्दा अलि बढी नै कसिकसाऊ गर्दै झोला समेत खानतलासी गरे । निर्देशक नारायण कार्कीले परिचय पत्र देखाउँदा पनि खानतलासी लिएका थिए । सो गतिविधिको उनीहरूले फेसबुक लाइभ समेत गरेका थिए । भिडियो हेरेपछि व्यापक जनदबाबपछि उनीहरूमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो ।
निर्देशक कार्कीलाई भन्दाअघि चेक जाँच गर्नेक्रममा आफूलाई स्वास्थकर्मीको परिचय दिनेहरूले अनावश्यक कामका हिँडेको युवाहरूले भेटेका थिए । ती युवाहरूले भने, ‘केही स्वास्थकर्मीहरुले अनावश्यक कामकै लागि पनि मानिसहरू ओसारपसार गरिरहेका भेटिए, उनीहरूले परिचयपत्र दुरुपयोग गरेको पाइएपछि हामीले पछि आएका सवारी साधनलाई समेत थप सोधपुछ गरेका थियौँ ।’
चेकजाँचमै खटिएका उत्तम कार्की अभद्र कसुरमा पक्राउ परेका छन् । पीडितले उजुरी नदिएपछि उनी हिरासतमै छन् । उत्तम कार्की भन्छन् ‘प्रहरीले नाकामा कडाइ गर्न सकेन, बारम्बार हामीले कडाइ गर्न आग्रह गर्यौ, तर पनि जथाभाबी मानिसहरू आउन थालेपछि कोरोनाको जोखिम बढ्यो, हामी बाध्य भएर नाकामा गएका हौ, कसैलाई अभद्र व्यवहार गर्ने, दिने हाम्रो नियत होइन ।’