काठमाडौं । सरकारले आज लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो ।
सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेकी हुन् । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।
सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेस गर्ने तयारी पनि गरेको छ ।
नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको नेपाली भूभाग तपाइँ तस्विरमा देख्न सक्नुहुन्छ ।
काली नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड भारतले अतिक्रमण गरेको नेपाली भूम िहो । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो ।
दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ ।
त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ । गुञ्जी दोभानमा आएर मिसिन्छ । छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ ।
त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ । उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ ।
बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो ।