जनकपुरधाम । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्म थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी धनुषा जिल्लाका छन् । धनुषामा २९ जना संक्रमित भेटिएका हुन् ।
त्यसैगरी महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।
महोत्तरीको १७ जना संक्रमित जलेश्वर नगरपालिका स्थित क्वारेन्टाइनमा रहेकाहरु हुन् ।
त्यस्तै, सिरहाको संक्रमितहरुमध्ये बरियारपटीका ५ जना रहेका छन् भने १ जना अन्य स्थानका छन् ।
सर्लाहीको मलंगवा क्वारेन्टाइनमा रहेका ७ जना र सप्तरीको १४ जना संक्रमित बोदेबर्साइन नगरपालिका स्थित क्वारेन्टाइनका छन् ।
प्रदेश २ मा मात्रै संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगिसकेको छ ।