मंसिर ०७, २०८१, शुक्रबार
               

मनसुन एक साता ढिलो भित्रिने

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

नेपालमा यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । 

मनसुन दक्षिण भारतको केरला हुँदै नेपाल प्रवेश गर्ने बताइएको छ । 

केरलामा मनसुन भित्रिने समय जुन १ हो । तर यस वर्ष सो स्थानमै ढिलो अर्थात् जुन ५ भन्दा अगाडि मनसुन नभित्रिने संकेत देखिएकाले एक साता ढिलो मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । 

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने पोखरेलले जानकारी दिए । 

तर, अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जन हावाहुरीसहित वर्षा हुने गर्छ । 

हाल पश्चिमी वायु, पूर्वीभूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको छ । 

यी प्रणाली विकसित हुने क्रमै रहेकाले पनि मनसुन ढिलो भित्रिने अनुमान मौसमविद्को रहेको छ । एउटा प्रणाली आएपछि अर्काे प्रणाली आउन केही समय लाग्छ । 

यसका साथै मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । 

तर, अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन । 

जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरु हुने बताइएको छ ।
 
मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि